एजेन्सी,माघ १७
स्पेनिस कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ ।बार्सिलोना ६–३ को जित निकाल्दै सेमिफाइानलमा पुग्न सफल भएको हो ।
बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको आधादर्जन गोलमा फिलिपे कौटिन्होले २ तथा इभान राकिटिक, सर्जि रोबर्टो, लुइस स्वारेज र कप्तान लियोनेल मेस्सीले समान १ गोल गरे ।
१३औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २७औं मिनेटमा इभर बनेगाले पेनाल्टीमा गोल गर्न नसकेपछि सेभियाले बराबरी गर्ने मौका गुमायो । ३१औं मिनेटमा इभान राकिटिकले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।
५३औं मिनेटमा फिलिपे कौटिन्होले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढ्यो । त्यसको एक मिनेटपछि सर्जि रोबर्टोले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित तर्फ अघि बढाए । ६७औं मिनेटमा सेभियाका गुइलहेमी एरानाले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए ।
८९औं मिनेटमा लुइस स्वारेजले र इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ६–१ को फराकिलो जित दिलाए ।