विराटनगर, माघ २६
चार्टर्ड एकाउन्टेन्सी(सिए) परीक्षामा बोर्ड प्रथम भई गोल्ड मेडल प्राप्त गर्न सफल विराटनगरको मेरिल्याण्ड एप्लाईड केरियर एकेडेमीकी छात्रा प्रणाशा श्रेष्ठलाई कलेजले शनिबार नगदसहित सम्मान गरेको छ । २२ वर्षे सिए इतिहासमै काठमाडौँबाहिर पहिलोपल्ट सिए परीक्षामा बोर्ड प्रथम भएकी उनलाई शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा नगद २५ हजार रुपैँयासहित सम्मान गरिएको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथी तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्र कोइराला र एकेडेमीका अध्यक्ष मोहनप्रसाद सुवेदीले बैँक चेक र प्रशंसापत्र प्रदान गरे । उपकुलपति कोइराला, अध्यक्ष सुवेदी तथा कार्यक्रममा उपस्थित अतिथी क्याम्पसका सञ्चालक, शिक्षक र सहपाठीहरुले प्रणाशा मेहनतका कारण नै सफल भएको बताउँदै भविष्यमा उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।
सम्मानित ब्यक्तित्व प्रणाशाले घरपरिवार तथा एप्लाईड एकेडेमी परिवारको साथ र सहयोगका कारण आफू सो स्थान हाँसिल गर्न सफल भएको बताउँदै भविष्यमा अझ मेहनेत गरेर अगाडि बढ्ने बताईन् ।
गत जुन २०१८ मा सञ्चालित क्याप २ तहको परीक्षामा बोर्ड प्रथम भएकी प्रणाशाले विराटनगरको केभीएम स्कुलबाट विशिष्ट श्रेणीमा एसएलसी उर्तीण गरेकी थिईन् भने प्लस २ पनि मेरिल्याण्ड कलेजबाट विशिष्ट श्रेणीमै उर्तीण भएकी थिईन् ।उनी यसअघि अर्थमन्त्री डा.युवराज खतिवडा तथा विभिन्न संघ संस्थाबाट सम्मानित भईसकेकी छिन् ।
सिए कोर्स गर्न काठमाडौ बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्दै सिएको अध्यापन थालेको विराटनगरस्थित एप्लाईडमा ताप्लेजुङ, पाँचथर, इलाम, धनुषा, महोत्तरी लगायत २० जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन । एप्लाईडमा चार वर्षे एकाउन्टेन्सी कोर्स, १८ महिने एकाउन्टिङ टेक्निसियन तथा विभिन्न कर, लेखा, ब्यवसायिक एवम् पेशागत तालिमहरु सन्चालन हुँदै आएका छन् ।