विराटनगर, फागुन ५
मोरङको सुन्दरहरैंचामा शनिवार तेस्रो सुन्दरहरैचा एक्स्पो सुरु भएको छ । एक्स्पोको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले एक कार्यक्रमकाबीच उद्घाट गरे । साविकको सुन्दरदुलारीको गछियामा आयोजना गरिएको एक्स्पो फागुन १२ गते सम्पन्न हुनेछ ।
एक्स्पोमा कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न १ सय ८४ स्टलहरु राखिएको एक्स्पो आयोजक समितिका संयोजक राजेश कार्कीले जानकारी दिए । कृषि, पर्यटन, उद्योग र व्यापार,आर्थिक समृद्धिको मूल आधार नारा दिईएको एक्स्पोबाट १५ करोडको कारोवार हुने आयोजकको दावी छ ।
एक्स्पोको उद्घाटन गर्दे सभामुख कृष्णबहादुर महराले नेपाललाई पर्यटन क्षेत्रको माध्यमबाट बिकास गर्ने धेरै सम्भावना रहेको बताएका छन् । महराले नेपालमा धार्मिक सांस्कृतिक लगायतका पर्यटकियस्थल निकै रहेको भन्दै नेपालको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उनले नेपालमा जुनसुकै स्थानमा गएर समेत ब्यापार ब्यावसाय गर्न सक्ने अबस्था नेपालको सविधानले ल्याएको बताए ।
नेपालको समृद्धिको आधार पर्यटन क्षेत्र नै भएको उल्लेख गर्दे सभामुख महराले पर्यटन क्षेत्रको बिकास गर्न सके समग्र मुलुकको बिकास हुने धारणा पनि राखे । पर्यटन क्षेत्रबाट मुलुकको बिकास गर्नका लागी राज्यसंग स्पष्ट भिजन हुन जरुरी रहेको उनको भनाई छ ।उनले उत्पादन सँग जोडिने कार्यक्रम सरकारले ल्याउनु पर्ने समेत बताए । उनले माटो सुहाउदो उत्पादनमा लाग्न समेत अनुरोध गरे ।