विराटनगर, फागुन ६
राजवंशी समाज उत्थान समिति(विराट)को १२ औं बृहत भेला विराटनगरमा सम्पन्न भएको छ । समितिले बृहत भेलाको अवसरमा विविध कार्यक्रम गरेको छ । स्थानिय वीरेन्द्र सभागृहमा आयोजना गरिएको बृहत भेलाको प्रदेश एकका प्रमुख प्राडा गोबिन्दबहादुर तुम्बाहाङ र सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरे ।
सो अवसरमा प्रदेश प्रमुख तुम्बाहाङले प्रदेश एक जातिय विविधताले सम्पन्न प्रदेश रहेको बताउदै प्रदेश भित्रका विभिन्न जातिय समुदायहरुमध्ये विराट राजवंशी समुदाय समेत आफ्नो छुट्टै पहिचान र संस्कृति बोकेको समुदाय रहेको उल्लेख गरे । प्रदेश सरकारले विराट राजवंशी समुदायले उठाएका मागहरुलाई सम्बोधन गर्ने बिषयमा आफु विश्वस्त रहेको समेत उनले बताए ।
कार्यक्रममा बृहत भेलाका संयोजक सिद्धुलाल राजवंशीले कोच र धानुक राजवंशीहरु आदिवासी जनजातिमा सुचिकृत गरिएको भएपनि विराट राजवंशी समुदाय सुचिकृत हुन नसकेको बताए । उनंले विराटनगर वरिपरिलाई केन्द्र बनाएर आदिम कालदेखि बस्दै आएका विराट राजवंशीहरुलाई समेत आदिवासीमा सुचिकृत गर्नुपर्ने माग गरे ।
आयोजक संस्थाका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले विराट राजवंशीलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने तथा विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी घोषणा गर्नुपर्ने लगायतका माग राखे । सो अवसरमा विराट राजवंशीको संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो ।