काठमाडौँ,फागुन ११
ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ । शुक्रबार साँझ अज्ञात समूहले कार्यालयको गेटमा बम विस्फोट गराएका हुन् ।
घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अल्का अस्पताल, मेडिसेटी र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।घाइतेहरुमा बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा, भैसेपाटी बस्ने सिंह प्रताप गुरुङको बीएण्डीमा र पुरुषा मानन्धरको मेडिसिटीमा उपचार भइरहेको छ ।
ललितपुर प्रहरी प्रमुख रवीन्द्र घानुक अनुसार विस्फोटमा प्रेसर कुकर बम प्रयोग भएको थियो ।बम बिस्फोटबाट गेटमा क्षति पुगेको साथै छेउको पसलमा पनि क्षति पुगेको प्रारम्भिक रिपोर्ट आएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले बम विस्फोट गराउनेको पहिचान हुन नसकेको भन्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।
कमलपोखरीमा प्रेसर कुकर बम
कमलपोखरीस्थित आँगन स्वीट्समा पनि शुक्रबार साँझ प्रेसर कुकर बम फेला परेको छ । कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिए ।
नेपाली सेनाको बम डिस्पोजल टाेलीले बम डिस्पाेज गरेकाे हुँदा त्यहाँ भने कुनै क्षति हुन पाएन ।
(तस्वीर : कामिल जमाली)