एजेन्सी, फागुन १२
आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले चौथो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको छ । आइतबार बैंककमा भएको खेलमा हङकङले प्रस्तुत गरेको ६३ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९ औं ओभरमा प्राप्त गर्यो ।
शीर्ष क्रमले बिर्सनलायक प्रदर्शन गरेपछि चौथो विकेटका लागि सरिता मगर र अप्सरी बेगमले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याएका थिए । सरिता र अप्सरीले ३२ रनको साझेदारी गरे । अप्सरीले ३५ बलमा ३ चौकको मदतले २४ रन जोडीन् । सरिता मगर १६ रनमा नटआउट रहिन् ।
तेस्रो ओभरको दोस्रो बलमा काजल श्रेष्ठ ४ रनमा जस्मिन टित्मुस एलबीडब्लू धरापमा परिन् । तीन बलपछि सिता रानामगर शून्यमा क्याचआउट भइन् । आठौं ओभरमा इन्दु बर्मा ४ रन जोड्दै स्टम्पिङ हुँदा अर्को ओभरमा कप्तान रुविना क्षेत्री पनि ६ रन जोड्दै सोहि तरिकाले आउट भइन् । रोमा थापा २ रन जोड्दै बोल्ड हुँदा नेरी थापा १ रनमा नटआउट रहिन् ।
त्यसअघि नेरी थापाले उत्कृष्ट बलिङ गरेपछि हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन जोडेको थियो । ओपनर यास्मिन दस्वानीले १६ रन र बेल्ला पुनले ११ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । तर नेरी थापाले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै लगातार ओभरमा शीर्ष ६ विकेट हात पारिन् । उनले ४ ओभरमा ८ रन खर्चेर ६ विकेट हासिल गरिन् । नेपालको लागि सिता रानामगरले पनि २ विकेट लिइन । नेरीको प्रदर्शन नेपालको टि–२० आई इतिहासमा सर्वोत्कृष्ट बलिङ हो । विश्व क्रिकेटमा पनि नेरीले तेस्रो स्थान प्राप्त गरेकी छिन् ।
मध्यक्रममा मारिना लाम्प्लोले १९ रन जोडेपछि हङकङले सम्मानजनक योगफल तयार पारेको थियो । कप्तान मारिको हिल र केरी चानले २–२ रन जोड्दा जस्मिन तित्मसले खाता खोल्न सकिनन् ।नेपालले प्रतियोगितामा ४ खेल खेल्दै ३ जित र १ हार बेहोरेको छ । थाईल्यान्डले भने प्रतियोगिताको ४ मध्य ४ खेल जित्दै ८ अंक सहित शीर्ष स्थानमा बलियो पकड बनाएको छ । यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ ।