एजेन्सी, फाल्गुन १२
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्टेलाई विवादास्पद पेनाल्टी गोल र भिएआरको निर्णयले पराजित गरेको छ । नेपाली समय अनुसार रातीको १:४५ मा भएको उक्त खेलमा लेभान्टेलाई उसकै घरमा १–२ ले निराश बनायो ।
निकै प्रतिस्पर्धात्मक खेलमा रियलले दुवै गोल पेनाल्टीबाट गरेको थियो । रियलले दुई पेनाल्टी पाएकोमा दोस्रो पेनाल्टी प्रहारको निर्णय विवादास्पद बनेपछि भिएरआर प्रयोग गरिएको थियो, जसमा रियल मड्रिडले राहत पायो ।
रियलका लागि करिम बेन्जेमा र ग्यारेथ बेलले पेनाल्टीमा गोल गरे । खेलमा पहिलो हाफको अन्तिम समयमा रियलले पहिलो गोल पेनाल्टीबाट गरेको थियो । बक्समा लेभान्टेका खेलाडी एनिस बार्ढीले ह्यान्ड बल गरेपछि रियलले पेनाल्टी पाएको थियो । जसमा बेन्जेमाले गोल गरे ।
तर, खेलको ६०औं मिनेटमा लेभान्टेका रोजर मार्टीले गोल गर्दै खेल बराबरी बनाए । खेल त्यसपछि निकै रोमान्चक मोडमा पुग्यो जहाँ ७८औं मिनेटमा रियलले पुनः पेनाल्टी पायो । लेभान्टेका चेक डोकुरलेले कासेमिरोलाई बक्समा फउल रियलले पेनाल्टी पायो । जसमा ग्यारेथ बलले गोल गरे । उनी दोस्रो हाफमा बेन्जेमाको ठाउँमा मैदान छिरेका थिए । उनको गोलपछि रियलले १–२ को अग्रता बनायो ।
त्यसपछि रियल १० खेलाडीमा सीमित भयो । खेल सकिन ४ मिनेट बाँकी छँदा रियलका डिफेन्डर नाचो दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडे । यता, लेभान्टेका रुबेन रोचिन पनि ८८औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेका थिए ।
खेल दौरान रियललाई दोस्रोपटक पेनाल्टीको मौका दिने रेफ्रीको निर्णयप्रति लेभान्टेले विरोध गरेको थियो । पछि भिएआर प्रयोग गरेपछि सोही निर्णय सही भएको थियो । यो जितपछि रियलले २५ खेलबाट ४८ अंक बनाएको छ । ऊ तेस्रो स्थानमा यथावत छ । शीर्ष टोली बार्सिलोनाको खातामा ५७ अंक छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको खातामा ५० अंक छ ।