एजेन्सी, फागुन १६
पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्ल्याडीयटर्सविरुद्ध खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने म्यान अफ द म्याच घोषित भएका छन् । सन्दीप सम्मिलित लाहोर कलन्दर्सले ८ विकेटको सहज जित दर्ता गर्दा सन्दीपले घातक बलिङ गरे ।
सन्दीपले क्वेटाको शीर्षक्रम ध्वस्त पार्ने क्रममा ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । क्वेटाले अन्तिम ओभरको पहिलो बलमा अलआउट हुँदै १ सय ६ रनमात्र जोड्यो । क्वेटाका ओपनर अहसन अलीले ३३ र कप्तान सरफराज अहमदले २९ रनको योगदान दिए ।
चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले चौथो बलमा नै सेन वाटसनलाई एलबीडब्लू धरापमा पारेका थिए । त्यस ओभरमा उनले ३ रनमात्र खर्चे । छैटौं ओभरको पहिलो र अन्तिम बलमा पनि सन्दीपले सफलता हात पारे । पहिलो बलमा राइली रुसोलाई क्याच आउट गराएका उनले अन्तिम बलमा उमर अकमललाई बोल्ड गरे । त्यस ओभरमा उनले २ रनमात्र दिए ।
त्यसपछि आठौं ओभरको तेस्रो बलमा सन्दीपले दानिश अजिजलाई १ रनमा क्याचआउट गराए । उक्त ओभरमा ३ रन लिए । दशौँ ओभरमा आफ्नो कोटा सकाएका उनले २ रनमात्र दिए । सन्दीपले पहिलो खेलमा ४६ रन खर्चेर ३ विकेट लिँदा दोस्रो खेलमा २० रन दिँदै १ विकेट हात पारेका थिए । लाहोरका लागि हरिस राउफले २ विकेट लिए भने यासिर साह र शाहिन अफ्रिदिले १–१ विकेट लिए ।
एबी डे भिलियर्सले उत्कृष्ट ब्याटिङ गरेपछि लाहोरले २ विकेटको क्षतिमा १७ औं ओभरमा जित हासिल गर्यो । उनले नटआउट ४७ रनको योगदान दिए । उनले ३८ बल खेल्दै ७ चौका प्रहार गरे । हरीस सोहेल ४२ बलमा ३ चौकासहित नटआउट ३३ रन जोडे । ओपनर गौहर अली २१ र कप्तान फखार जमान २ रनमा आउट भए ।सन्दीपको टोली लाहोरले ६ खेलमा ३ जित र ३ हार बेहार्दै अंक तालिकामा चौथो स्थानमा छ । क्वेटा ८ अंक जोड्दै शीर्ष स्थानमा छ ।