एजेन्सी, फाल्गुन १८
रोनाल्डोले यसै साता हुने लिग खेल गुमाउने सम्भावना बढेको छ । युभेन्टसले आइतबार राति नापोलीसँग अवे मैदानमा खेल्दैछ । इटालियन कलब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो घाइते भएका छन् । गत आइतबार सिरी ‘ए’ अन्तर्गत बोलोग्नासँगको खेल दौरान उनी घाइते भएको क्लब युभेन्टसले अफिसियल रूपमा विज्ञप्ति निकालेर पुष्टि गरेको छ ।
क्लबको विज्ञप्तिअनुसार रोनाल्डोको देब्रे खुट्टाको जोर्नीमा समस्या देखिएको छ । र, उनको आवश्यक उपचार गर्नुपर्ने भएको छ । अवे मैदानमा भएको बोलोग्नविरुद्धको सो खेल युभेन्टसले ०–१ ले जितेको थियो । सो खेलमा पाउलो डिबालाले बेन्चबाट गएर विजयी गोल गरेका थिए ।
तर, रोनाल्डो च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेग खेल खेल्न फिट हुनेछन् । क्लबले आफ्नो घरमा हुने स्पेनिस एथ्लेटिको मड्रिडविरुद्धको दोस्रो लेगको निर्णायक खेलका लागि रोनाल्डोलाई फिट राख्न त्यसबेलासम्म केही खेलमा आराम दिने तयारी गरेको छ । सो खेल आगामी मार्च १२ मा हुँदैछ ।
यसअघि एथ्लेटिकोको घरमा भएको पहलिो लेगको खेल एथ्लेटिकोले २–० ले जितेको छ । दोस्रो लेगमा युभेन्टसमाथि शानदार कमब्याक गर्नुपर्ने चुनौती छ । यसै सिजनको सुरुमा रियल मड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले सबैखाले प्रतियोगिता गरेर कूल २१ गोल गरेका छन् ।