२० फागुन, विराटनगर
पूर्व प्रधानमन्ती तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषय टुंग्याउन नदिने जुनसुकै षड्यन्त्र परास्त गरिने बताएका छन् । उनले कुनैपनि हालतमा पार्टी एकता हुने बताए ।
विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रदेशको पार्टी एकताको प्रस्ताव तयार पारिसकेको र एक दुई दिनमा समग्र पार्टी एकताको प्रस्ताव टुंगिने समेत बताए । उनले पार्टी एकता हुन नदिने, गठबन्धन हुन नदिन र स्थायी सरकार निर्माण हुन नदिन लाग्ने शक्तिहरु नै पार्टी एकता नहोस् भनेर लागिरहेको भएपनि सबै षड्यन्त्रहरु परास्त गरिने बताएका हुन् ।
अध्यक्ष दाहालले मन्त्रिमण्डल कति जना थप्ने, को हटाउने भन्ने विषय प्रधानमन्त्रीको विषय भएको पनि बताए । संचारमाध्याममा आएजस्तो मन्त्री हटाउने या थप्ने भन्ने विषयमा प्रधानमन्त्री र आफूबीच कुनै छलफल नभएको पनि उनले बताए । विप्लव नेतृत्वको नेकपालाई राजनीतिक र प्रशासनिक दुवै तरिकाले नियन्त्रण गर्न सरकार गम्भिर रहेको पनि दाहालले बताए । उनले राजनीतिक हिसावले सहमतिका साथ हल हुनेसम्म सरकारले प्रयत्न गर्ने र प्रशासनिक ढंगले हल गर्न पनि प्रयास गर्ने बताए ।
दाहाललाई विमानस्थलमा प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे, नेकपा मोरङका प्रस्तावित अध्यक्ष श्रृषिकेश पोखरेल लगायतका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।