विराटनगर । काठमाडौ बाहिर पहिलो पटक विराटनगरमा आयोजना हुने महिला साफ फुटबल प्रतियोगिताका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रतियोगिता मिति नजिकिंदै जाँदा सुरक्षा व्यवस्था मजवुत बनाइएको हो ।
सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने तयारी छ । यस्तै खेलाडी र अफिसियल तथा साफका पाहुनाहरु बसेका होटलबाट खेल मैदानसम्म सुरक्षाका लागि स्कर्टिङको व्यवस्था पनि गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अन्तर्राष्ट्रिय प्रतियोगिता भएका कारण अन्य बेलाको भन्दा विशेष सुरक्षा व्यवस्था अपनाइने बताएका छन । उनले सुरक्षामा कुनै कमजोरी भएमा त्यसले नेपालकै छवि विगार्ने विषयमा पनि सुरक्षा निकाय संवेदनशील रहेको बताए ।
यसैगरी मोरङ प्रहरीले प्रतियोगितालाई लक्षित गरेर प्रतियोगिता उद्धघाटन स्थल र आसपासमा घरेलु मदिरा बिक्रीमा पूर्ण रुपमा रोक लगाइएको जनाएको छ । खेल अवधिभर खेलस्थल आसपास अवैध रुपमा घरमै उत्पादन गरिने मदिरा बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउँदै निगरानी बढाउन थालिएको प्रहरीले जनाएको छ ।