बिराटनगर,फागुन २९
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुवात गरेको छ ।शहिद रंगशालामा बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गर्दै शुखद सुरुआत गरेको हो ।
भारतको जितमा सन्जुले दुई गोल गरिन् भने ग्रेस डङमे, सन्धिया रंगनाथन, इन्दुमाथी कठिरेसन र रतनबाला देवी नोङमाइथेमले गोल गरे ।पहिलो हाफमा पाँच गोलको फराकिलो अग्रता बनाएको भारतले दोस्रो हाफमा भने एक गोल मात्रै गर्न सफल भयो । भारतका लागि खेलको आठौं मिनेटमा नै ग्रेसले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् ।
खेलको १३औं मिनेटमा सन्धियाले गोल गर्दै भारतलाई २–० गोलको अग्रता दिलाएकी थिइन् । त्यस्तै, खेलको २२औं मिनेटमा इन्दुमाथीले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् भने त्यसको पाँच मिनेटमै खेलको २७औं मिनेटमा सन्जुले गोल गर्दै भारतलाई ४–० गोलको अग्रता दिलाएकी थिइन् ।पहिलो हाफमा ५–० को अग्रता बनाउँदा पहिलो हाफको अन्तिम समयमा रतनबाला देवीले गोल गरेकी थिइन् ।
भारतले दोस्रो हाफमा पनि आक्रमक खेल खेलेको थियो । तर माल्दिभ्सले भने रक्षात्मक खेल खेल्यो । खेलको ९०औं मिनेटमा भारतका लागि सन्जुले गोल गर्दै ६–० गोलको जित दिलाएकी हुन् । एकपछि अर्को आक्रमक खेल खेलेको भारतले राम्रो मौका गुमाएको थियो । यता, माल्दिभ्सले भने भारतको पोष्टमा बल प्रहार गर्न पनि सकेन । प्रतियोगिताअन्तर्गत भोलि (बिहीबार) बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको खेल भने शनिबार बंगलादेशसँग हुँदैछ ।