विराटनगर, चैत १
विराट व्यापार संघले प्रत्येक वर्ष आयोजना गर्दैै आएको होली मिलन कार्यक्रम यसवर्ष पनि भब्य रुपमा आयोजना गरेको छ । विक्रम सम्वत २०५७ साल देखि प्रत्येकवर्ष होली पर्वको अबसर पारेर संघले होली मिलन कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । आपसमा सदभाव र भाइचारा अभिबृद्धि गर्ने र होली पर्व सौहार्दपूर्ण वातावरणमा मनाउनुपर्छ भन्ने सन्देश दिन पनि प्रत्येक वर्ष होली मिलन कार्यक्रम गर्दै आएको विराट व्यापार संघका अध्यक्ष शिव रिजाललले जानकारी दिए ।
शुक्रबार विराटनगर स्थित मारवाडी सेवा सदनमा आयोजना गरिएको होली मिलन कार्यक्रममा आपसमा रंग दलेर होली खेल्नुका साथै विभिन्न कार्यक्रम पनि गरिएको थियो । होली मिलन कार्यक्रममा प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेशसभाका सदस्यहरु, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायत विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारण, उद्योगी व्यवसायी, विभिन्न राजनितिक दलका नेतालगायतको वाक्लो उपस्थित रहेको थियो ।

प्रत्येक बर्ष मनाईने यस होली मिलन कार्यक्रम यसपटक विराटनगरलाई एक नम्बर प्रदेशको स्थायी राजधानी बनाउने पहलमा आयोजना गरिएको संघका अध्यक्ष रिजालले बताए । समृद्ध , पूर्वाधार युक्त, औद्योगिक नगरी तथा शैक्षिक केन्द्रको धरोहर, व्यापारिक तथा प्राचीन शहर राजधानी विराटनगर भन्ने नारा सहित होली मिलनको आयोजना गरिएको विराट व्यापार संघका पूर्व अध्यक्ष यादव पोखरेलले बताए । यसवर्ष आयोजना गरिएको होली मिलनमा नाटक, सांगितिक कार्यक्रमका साथै नाचगान समेत गरेर होली मनाइएको विराट व्यापार संघका महासचिव सुजन थापाले जानकारी दिए ।

