विराटनगर,चैत २
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल यसअघि नै सेमिफाईनलमा प्रवेश गरेपनि समूह विजेता बन्ने लक्ष्यमा छ ।
एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश सेमिफाइनलमा दबाव मुक्त गर्न आजको खेल जित्नै पर्ने लक्ष्यमा छन् ।नेपाल र बंगलादेशबिचको खेल दिउँसो ३ बजे विराटनगरको शहिद रंगशालामा हुने छ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । बंगलादेशले भने भुटानलाई २–० गोलअन्तरले पराजित गरेको थियो । दुवै खेलमा भुटान पराजित भएपछि यी नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल पुगेका हुन् । भुटान भने घर फर्किसकेको छ ।
आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेमा पनि समूह विजेता बन्ने छ । त्यस्तै, समूह ‘बी’ बाट भारत र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।
साफ महिला च्याम्पियन बन्ने लक्ष्य लिएको नेपाल कुनै खेल नहारी उपाधि जित्ने लक्ष्यमा छ । नेपाली टोलीका प्रशिक्षक हरि खड्का बंगलादेशविरुद्ध आफ्नो टोली पूर्ण रुपमा आक्रमणमा केन्द्रित भएर खेल्ने बताउँछन् ।
खड्काले भने ‘ हामीसँग दक्षिण एसियाकै उत्कृष्ट आक्रमण रहेको छ । हामीले बंगलादेशविरुद्ध पूर्ण रुपमा आक्रमक रणनीति लिएर नै खेल्नेछौं । हामी बंगलादेशलाई पराजित गरेर समूह विजेताको रुपमा अगाडी बढ्न चाहन्छौं।’ ।
उनले बंगलादेश पछिल्लो समय निकै राम्रो प्रदर्शन गर्दै आएको टोली भएपनि नेपालको तुलनामा भने पछाडी नै रहेको बताए ।खड्काको प्रशिक्षकत्वमा नेपालले केहि महिना अघिमात्र म्यानमारमा बंगलादेशविरुद्ध पहिलोपटक बराबरी खेलेको थियो । खड्का उक्त खेलको अन्तिम समयमा रणनीतिक रुपमा सानो गल्ति हुँदा खेल गुमाउन पुगेको स्वीकार्दै त्यसलाई बिर्सन चाहन्छन् ।
यता बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोटोंले नेपाल उत्कृष्ट टोली र उपाधि दावेदार भएपनि बंगलादेशले कठिन चुनौति दिने बताए । नेपालले हालसम्म बंगलादेशविरुद्ध खेलेका ५ खेलमा ४ जित र १ बराबरी खेलेको छ ।