काठमाडौं : सत्तारुढ दल नेकपाका सांसदहरूले आणविक भट्टी खोल्ने व्यवस्था राष्ट्रिय हितविपरीत भएकाले यसलाई खारेज गर्न भन्दै संशोधन प्रस्ताव दर्ता गरेका छन्।
प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भई संशोधनका क्रममा रहेको ‘परमाणिक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको संशोधनको समयमा सत्तापक्षका सांसदबाटै विधेयकलाई पुनः परिमार्जनको प्रस्ताव गरिएको हो। विधेयकमाथि आइतबासम्मको संशोधनको समय रहेको थियो।
नेकपाका उपाध्यक्षसमेत रहेका सांसद भीम रावल तथा नेकपाका प्रमुख सचेतक देव गुरुङसहित नेकपाका सांसद कृष्णभक्त पोखरेल, योगेश भट्टराई, खगराज अधिकारीले छुट्टाछुट्टै संशोधन दर्ता गरेका छन्। उनीहरुको संशोधनको आशय भने एउटै रहेको छ।
‘विदेशी जनशक्तिबाट राष्ट्रिय हितअनुकूलको कार्य हुन नसक्ने देखिएकाले कुनै व्यक्ति संस्थालाई कार्य गर्नेगरी यस्तो संवेदनशील कार्यमा अनुमति दिन उपयुक्त हुँदैन,’ संशोधन प्रस्तावमा भनिएको छ। परमाणविक अनुसन्धान भट्टी राख्न मलुकमा जनशक्ति नभएको रसोका लागि विदेशी जनशक्ति आवश्यक पर्ने भएकाले यसको दुरुपयोग हुनसक्ने भन्दै यसलाई हटाउनुपर्ने प्रस्तावमा भनिएको छ, याे समाचार खबर आजकाे नागरिक दैनिकमा छ।