काठमाडौँ ,चैत १८
नेपालमा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता ९३ लाख रहेको तथ्याङ्क सार्वजनिक भएको छ । फेसबुकका प्रयोगकर्ताको संख्या बढेसँगै वार्षिक नेपालबाट १२ अर्ब रुपैयाँ फेसबुकले लगिरहेको छ ।
त्यसैगरी नेपालमा अरु सामाजिक सञ्जालका प्रयोकर्ता पनि उल्लेख्य मात्रामा रहेका छन् । यूट्यूब प्रयोगकर्ता ६० लाख र ट्वीटर चलाउनेको संख्या ४० लाख रहेको छ । इन्टरनेटको पहुँच ५६.७ प्रतिशत रहेको छ भने मोबाइलको पहुँच १३३ प्रतिशतमा पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।
प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा उनले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् । सो बैठकमा उनले सामाजिक सञ्जाल नेपालमा दर्ता हुनु पर्ने र नभएमा कानूनी कारवाही गर्ने बताए । उनले भने–‘दर्ता नहुने सामाजिक सञ्जाल बन्द गरिन्छ ।’
बेलायतमा सामाजिक सञ्जालको गलत प्रयोग गरेमा ५ हजार पाउण्ड जरिवाना र ६ महिना कैद वा दुबै हुन्छ । भारत मै पनि ५ वर्ष कैद र १ लाख जरिवाना वा दुबै हुने कानूनी व्यवस्था छ । त्यसकारण पनि सामाजिक सञ्जालको नियमन गर्नु आवश्यक रहेको उनले बताए ।
फेसबुकका सञ्चालक मार्क जुकरबर्गले समेत सामाजिक सञ्जालबाट आतंकवादी, पृथकतावाद, अपराधिक गतिविधि र व्यक्तिगत गोपनियताका कुराको गलत सन्देश फैलाउनले लाई नियमन गर्नु पर्ने बताएका छन् । मन्त्री बास्कोटाले भने-‘सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै नियमन अत्यन्त जरुरी भइसकेको छ ।’(विकास न्युजबाट)