विराटनगर : किशोरीलाई अवैध पेशामा लगाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गत चैत ३ गते घरबाट हराएकी १६ वर्षीया किशोरीलाई होटलमा अवैध कार्यमा लगाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
गत चैत ३ गते घरबाट हराएकी युवती खोजीका लागि लागि आफन्तले चैत १० गते प्रहरीमा निवेदन दिएका थिए । निवेदनपछि खोजी सुरु गरेको प्रहरीले सोमबार विराटनगर बरगाछीबाट बा ३१०६ नम्बरको कारबाट युवतीको उद्दार गरेको हो ।
बालिका उद्धारपछि अनुसन्धान सुरु गरेको प्रहरीले कार चालक सिरहाको लहान– ७ घर भई हाल विराटनगर– ६ मा बस्दै आएका नुर जमाल, विराटनगर– ४ स्थित वेलकम होटलका सञ्चालक ५० वर्षीय आशीष महतो र ४० वर्षीय सुशीला अधिकारीसहित युवतीलाई होटलसम्म पुर्याउने सिरहाको धनगढीमाई नगरपालिका – ११ नैनपुर घर भई हाल विराटनगर बस्दै आएका सन्तोष परियारलाएै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घरमा झगडा गरेर हिँडेकी किशोरीलाई कामको लोभ देखाएर परियारले वेलकम होटल पुर्याएका थिए । त्यसपछि होटल सञ्चालकले ललाईफकाई अवैध कार्यमा लगाएका थिए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।