राजविराज : माध्यमिक शिक्षा परीक्षा (एसईई) का ७० हजार ५६८ विद्यार्थीलाई प्रभावित पार्नेगरी प्रश्नपत्र बाहिर ल्याउने कार्य प्रदेश २ को सिरहास्थित इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहाबाट बाहिरिएको अनुसन्धानबाट खुलेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गर्दै एसईई परीक्षाको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिर ल्याउने कार्य इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहामा कार्यरत दुई जना प्रहरी नै पहिलो दोषी रहेको जनाएको छ।
इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा राखिएको प्रश्नपत्र सोही कार्यालयमा कार्यरत प्रहरीहरू राजविराज १० का २२ वर्षीय ब्रह्मदेव सुनरैत यादव र कञ्चनरुप ६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डलले परीक्षाअगावै लिक गरेको सीआईबीको अनुसन्धानमा खुलेको हो। घटनामा संलग्न यी दुई प्रहरीसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले दोषी प्रहरी भएकाले उनलाई अन्य व्यक्तिलाई हुने सजाय बाहेक प्रहरी ऐन बमोजिम समेत कारबाही हुने बताए।
प्रश्नपत्रको समूह र प्रश्न नम्बरसहित हुबहु उत्तर भएको चिटसहित पक्राउ परेका सप्तरी र सिरहाका परीक्षार्थीहरूलाई सोधपुछ गर्दै जाँदा प्रश्नपत्र लिक गर्ने र आदानप्रदान गर्ने अन्तिम व्यक्तिसम्म पुगेको सीआईबीले जनाएको छ।, याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ।