काठमाडौं ,चैत २३
बाहिरी चक्रपथ सडकको डीपीआरमा परिमार्जन हुने भएको छ । ७१.९३ किलोमिटर लामो बाहिरी चक्रपथको ५६.४ किलोमिटरको मात्रै डीपीआर तयार भएको छ । त्यसमा पनि भू माफियाहरुले स साना कित्तामा जमिन कित्ता काट गरिसकेकाले बाहिरी चक्रपथको डीपीआरमा आंशिक परिमार्जन गरेर अलाइनमेन्टमा समेत केहि परिवर्तन गर्न लागिएको हो ।
‘बाहिरी चक्रपथमा चिनियाँहरुको चासो छ, पुरानो डीपीआरमा आंशिक परिमार्जन गरेर अलाइनमेन्टमा समेत केहि फेर बदल हुनेछ’, उपत्यका विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीले भने । भूमाफियाहरुले अलाइनमेन्ट क्षेत्रमा स साना कित्तामा जमिन टुक्रा पारेर चलखेल गरेपछि नयाँ डीपीआर मार्फत अलाइनमेन्टमै केहि फेरबदल गर्न लागिएको हो । बाहिरी चक्रपथ आयोजनामा चाईना इञ्जिनियरिङ कर्पाेरेशनले डीपीआरसहित निर्माण गर्ने प्रस्ताव राखेको थियो । कम्पनीले इपीसीएफ मोडलमा बाहिरी चक्रपथ निर्माण गर्ने भनेको थियो तर अर्थमन्त्रालयले ल्याण्ड पुलिङ नै गर्नुपर्ने धारणा दिएको थियो ।
लगानी सम्मेलनमा समेत बाहिरी चक्रपथ निर्माणका लागि आवेदन परेपछि मन्त्रालयले इपीसिएफ मोडलका लागि पुनः प्रयास गरेको हो । ‘ल्याण्ड पुलिङबाट जमिन अधिग्रहण गरेर इपीसिएफ मोडलमा जान सकिएन भने आयोजना बनाउन सकिन्न, नपुगेको जग्गाका लागि मुआब्जा दिन सरकारले श्रोत सुनिश्चितता गर्नुपर्छ’, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भने ।
मन्त्रालयले २०७४ गत बैशाख १३ गते चोभार–सतुंगल खण्ड ६.६१३ किलोमिटरको निर्माण आरम्भ गर्ने भनेर प्रक्रिया अघि बढाएको थियो । अनुमानित लागत ६ अर्ब ५० करोड रूपैयाँ हुने सो खण्डको काम मात्रै नभएर अब पुरै खण्डको काम एकै पटक आरम्भ गर्नुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको छ । त्यसका लागि अलाइनमेन्टमा थोरै परिमार्जन गरेर नयाँ डीपीआर बनाउने र एकै पटक जग्गा अधिग्रहण आरम्भ गर्ने योजना मन्त्रालयले बनाएको हो ।
बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित वस्ती विकास गर्ने योजना छ ।(विकास न्युजबाट)