विराटनगर,चैत २८
प्रदेश नम्बर १ का सांसदहरूले सरकारले ंबजेट तथा कार्यक्रम छनौटमा विभेद गरेको, गरीब, सुकुम्बासीको समस्या समाधानमा ध्यान नदिएको तथा अवैध रुपमा संचालित क्रसर उद्योगलाई बन्द नगराएको आरोप लगाएका छन् । प्रदेशसभाको बिहीबार बसेको बैठकको शुन्य समयमा सांसदहरुले यस्तो आरोप लगाएका हुन् ।
सांसद सूयर्माराज राईले मोरङमा संचालनमा रहेका अवैध क्रसर उद्योग तत्काल बन्द गर्न माग गरे । जनताले क्रसर बन्द गराउन भन्दै गरेको आन्दोलन र आफूले संसदमा पटक पटक उठाएको कुराको सुनुवाई नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
लामो समयदेखि मोरङका खोलाको अवैध उत्खनन् भईरहेको छ तर पनि सरकारले यसतर्फ खासै चासो देखाएको छैन, सांसद राईले भने सरकारले अब जनताको आवाज सुन्नुपर्छ, अवैध क्रसर बन्द गरिनुपर्छ । यस्तै सांसद ज्योति सुब्बाले प्रदेशका मन्त्रालयहरुले पार्टी र नातागोता हेरेर बजेट तथा कार्यक्रम पार्ने गरेको आरोप लगाइन् ।
सांसद राधा थापाले सुकुम्बासी भूमिहीनलाई आवासको व्यवस्था गर्नुपर्ने, लालपूर्जा वितरण गर्नुपर्ने, शिक्षा र रोजगारको ग्यारेण्टी गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन । आर्थिक समृद्धि र विकासको लक्ष्य लिएको सरकारले गरीब तथा भूमिहीनहरुलाई वेवास्ता गरेको उनले बताइन् ।