मुक्त कमलरीद्वारा परिचयपत्रका लागि नाम दर्ता

मुक्त कमलरीद्वारा परिचयपत्रका लागि नाम दर्ता

कैलाली, माघ ११
भूमि सुधार कार्यालयमा हालसम्म झण्डै ६५० मुक्त कमलरीले मुक्त कमलरी परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये ११ स्थानीय तहका ५३९ जनाले उक्त परिचयपत्रका लागि नाम दर्ता गरेको भूमिसुधार कार्यालय धनगढीका प्रमुख तथा भूमिसुधार अधिकारी लोकराज जोशीले जानकारी दिए ।

कैलारी गाउँपालिकाका ७०, लम्कीचुवा नगरपालिकाका ५०, बर्दगोरीया गाउँपालिकाका नौ, भजनी नगरपालिकाका ९३, जोशीपुर गाउँपालिकाका २४, घोडाघोडी नगरपालिकाका ७५, गौरीगंगा नगरपालिकाका २२, गोदावरी नगरपालिकाका ३९, टीकापुर नगरपालिकाका आठ, धनगढी उपमहानगरपालिकाका ७३ जनालगायतले नाम दर्ता गराएका छन् ।

चुरेगाउँपालिका र मोहन्याल गाउँपालिकाबाट भने मुक्त कमलरी परिचयपत्रका लागि कसैले नाम दर्ता गराएका छैनन् । मुक्त कमलरी लक्षित कार्यक्रममा भाग लिन मुक्त कमलरी परिचयपत्र पेश गर्नु पर्ने हुन्छ । जिल्लामा हाल मुक्त कमलरीको संख्या दुई हजार ७६८ रहेको जोशीले बताए ।

कैलारी गाउँपालिकामा ३३७, लम्कीचुवा नगरपालिकामा २६५, जानकी गाउँपालिकामा २५९, बर्दगोरीया गाउँपालिकामा १९९, भजनी नगरपालिकामा २५१, जोशीपुर गाउँपालिकामा २००, घोडाघोडी नगरपालिकामा १८९, गौरीगंगा नगरपालिकामा २२१, गोदावरी नगरपालिकामा १०४, टीकापुर नगरपालिकामा ४९० र धनगढी उपमहानगरपालिकामा २५४ जना मुक्त कमलरी रहेको तथ्यांक छ । मुक्त कमलरी परिचय पत्रका लागि नाम दर्ता गराउने समय पुस १७ गतेदेखि माघ मसान्तसम्म तोकिएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.