२ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्न तर्फ गम्भीर भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद लक्षमणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन । संसदीय समितिले दिएको निर्देशन संबैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै उनले संसदका गरिमा, मर्यादा बचाउन अभिभावकको भुमिका निर्वाह गर्न उनले सभामुखलाई आग्रह गरे । समिति र संसदको अवहेलना र उपहास नहोस् भन्ने तर्फ सचेत हुनुपर्नेमा उनको जोड थियो ।
राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा उनले आक्रोश पोखे । संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउदै उनले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गरे ।