५ असार, विराटनगर । मोरङका कोच राजवंशी समुदायले रंगेली नगरपालिका–२ मा बिहीबार संस्थागतरुपमा लोथापोथा पर्व मनाईएका छन । शारिरीक सुस्वास्थ्य र समृद्धिको कामनासहित यो पर्व मनाउने गरिन्छ । राजवंशी समुदायका महिला–पुरुषले पारम्परिक मान्यता र विधिविधान अनुसार यो पर्व मनाएका छन् ।
यो पर्व मनाउने क्रममा राजवंशी समुदायका श्रद्धालुले स्थानीय भाषामा ‘बिरना झुटी’ भनिने एक प्रकारको घाँसलाई देउताको रुपमा स्थापना गरेर पुजापाठ गर्ने गर्छन् । बिरना झुटीलाई मध्यभागमा राखेर श्रद्धालुहरु वरिपरि बस्छन र शंखनादगर्दै बिरना झुटीलाई अँठिया कोला,आँप,लिचि र तराईमधेशमै पाईने बिशेष प्रकारको डोहा भनिने फल प्रसादकोरुपमा चढाउने गर्छन् । यो पर्व लोक कथनसंग सम्बन्धित रहेकाले पर्वसंग जोडिएको लोक कथावाचन र श्रवण गर्ने गरिन्छ । स्थानीय जानकार ब्यक्तिले पर्वको शुरुआतसंग जोडिएको कथा वाचन गर्ने प्रचलन छ । पूजाको क्रममा मौलिक भाकाको गीत समेत गाउने गरिन्छ ।
समापनको क्रममा भने पुजास्थलको मध्य भागमा स्थापना गरिएको बिरना झुटीलाई उचाल्ने र थेचार्ने गरिन्छ । यो पर्व मनाउदा समृद्धि आउने र शारिरीक सुस्वास्थय लाभ हुने राजवंशी समुदायको जनविश्वास छ ।