नेपाल टाईम्सकी रस्मिता उदासलाई नोवेल मिस नेवाःको ताज

नेपाल टाईम्सकी रस्मिता उदासलाई नोवेल मिस नेवाःको ताज

विराटनगर : विराटनगरमा सम्पन्न तेस्रो नोवेल मिस नेवाः को ताज विराटनगरकी रस्मिता उदासले जितेकी छन् ।

११ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उदासले ताज चुमेकी हुन् । प्रमुख निर्णायक गणेश बज्राचार्यले सोधेको ‘भाषा बाँचेमात्रै जाति बाँच्छ भन्ने प्रश्नलाई कसरी पुष्टि गर्नुहुन्छ ?’ भनेर सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिंदै ताज जितेकी हुन् । उदास सञ्चारकर्मीसमेत हुन् । उपाधिसँगै उदासले टिभीएस कम्पनीको स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमा, क्राउन हात पारिन् ।


मञ्जिना मुभिज क्रिएसन प्रालिको आयोजनामा भएको प्रतिस्पर्धामा फष्ट रनअप विराटनगरकी सुनेना श्रेष्ठ, सेकेण्ड रनअप धरानकी सुजाना तुलाधार र भ्युवर्स च्वाइसतर्फको उपाधि विनिता प्रधानले जितेकी थिइन् । बज्राचार्यसहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा, पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठ, मकालु टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत दिवस सुवेदी, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा. सन्देशदास श्रेष्ठ र डे«ेस डिजाइनर शिल्पा निराला कार्कीको निर्णायक समितिले विजेताहरूको घोषणा गरेको थियो । नोवेल मेडिकल कलेजले टाइटल स्पोन्सर गरेको प्रतिस्पर्धाको मुख्य प्रायोजकका रुपमा रमपम तयारी चाउचाउ र गुडलाइफ विस्कुट रहेका थिए ।

उपाधि विजेताहरूलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, आयोजक संस्थाका प्रबन्ध निर्देशक जतिन ताम्राकार, पत्रकार एवं कवि मीनकुमार नवोदित, कार्यक्रमका सल्लाहकार हरिबहादुर श्रेष्ठ, नरेश श्रेष्ठ, नोवेल मेडिकल कलेजका प्रशासकीय अधिकृत दिपेश राईलगायतले प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए । विजेताहरूलाई गत वर्षका विजेताहरूले क्राउन लगाइदिएका थिए । विराटनगरसहित धरान, इटहरी, दमकमा गरिएको छनौटबाट आएका १२ जना युवती अन्तिम प्रतिस्पर्धा गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक ताम्राकारले बताए ।

आउँदो वर्षदेखि नोवेल मिस नेवाःलाई प्रदेशस्तरीय बनाउने ताम्राकारले बताए । कार्यक्रममा पत्रकार हरिहर नेपाल, अनिल श्रेष्ठ, साहित्यकार सरिता तुलाधर, झिः पुच विराटनगरका पूर्वअध्यक्ष नारायणप्रसाद श्रेष्ठ, स्वयमसेवी शिक्षक राजु क्षेत्री, मकालु टेलिभिजन र विएफएमलाई समेत सम्मान गरिएको थियो । महानगरका मेयर पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.