८ असार,इटहरी ।
सार्वजनिक रूपमै निरन्तर अमर्यादित भाषा प्रयोग गरी विवादमा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको विषयमा उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र छलफल हुने भएको छ ।
आइतबार बस्ने बैठकमा यो विषयमा छलफल हुने नेकपा सुनसरी अध्यक्ष योगेन्द्र मण्डल ‘पप्पु’ले जानकारी दिए । पत्रकारलाई धम्की दिएको र महिलाहरूको चरित्र हत्या गर्ने खालका शब्द प्रयोग गरेकाले उनीमाथि नेकपाले छानबिन समेत गर्ने भएको हो । यसबारे पनि बैठकमा छलफल हुने सुनसरी नेकपा जिल्ला अध्यक्ष मण्डलले जानकारी दिए। प्रदेश कमिटीका केही पदाधिकारी समेत सहभागी हुने जिल्ला बैठकमा चौधरीका पछिल्ला गतिबिधिबारे पहिलो पटक छलफल हुन लागेको हो ।
तल्लो तहमा पार्टी एकीकरणका लागि बस्न लागेको बैठकमा चौधरीको आपत्तिजनक भनाइलाइ लिएर कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ। प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीको बोली अशोभनीय र पार्टी हितविपरीत रहेको प्रदेश कमिटीलाई जानकारी गराएको जिल्ला अध्यक्ष मण्डलले बताए ।
यसअघि नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले उपमहाननगर प्रमुख चौधरीलाई पुनः त्यस्तै व्यवहार नगर्न निर्देशन दिएको बताए ।