‘क्लिन फिड’ले अर्बौंको बजार बढाउने

‘क्लिन फिड’ले अर्बौंको बजार बढाउने

काठमाडौं : सोमबार दिउँसो ३ः०० बजेदेखि मङ्गलबार ३ः०० बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि यति बेला ‘क्लिन फिड’ चर्चामा छ ।

टेलिभिजन च्यानल प्रसारण बन्द गरेका नेपाल केबल टेलिभिजन महासङ्घ र इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले प्रस्तावित विज्ञापन ऐन, २०७६ अनुसार क्लिन फिड लागू भए टेलिभिजन प्रसारण गर्न समस्या हुने दाबीसाथ साङ्केतिक रूपमा प्रसारण बन्द गरिएको जनाउँदै आएका छन् । तर, क्लिन फिड पूर्ण रूपमा लागू भए त्यसले नेपालको विज्ञापन बजारको आकार अर्बौं रुपियाँले बढाउने र सरकारको राजस्व वृद्धि गर्न सहयोग पुग्ने सम्बन्धित सरोकारवालाको भनाइ छ ।

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ६ (१) अनुसार ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरू नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ’ उल्लेख छ । त्यस्तै सोही दफाको उफदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने उल्लेख गरिएको छ ।

प्रस्तावित यो व्यवस्था कार्यान्वयनमा आए अहिलेको विज्ञापन बजार दोब्बर हुनसक्ने नेपाल विज्ञापन सङ्घका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठ बताउनुहुन्छ । “अहिलेकै परिस्थितिमा क्लिन फिड लागू भए कम्तीमा दुई अर्ब रुपियाँभन्दा बढीले तत्काल बजार विस्तार हुने छ”, नेपाल विज्ञापन सङ्घका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले भन्नुभयो, “त्यसले मात्र होइन, बजार दोब्बरसम्म बढ्ने सम्भावना छ । ”, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.