गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली

२६ असार, चितवन ।
गत जेठ १५ गते डोजर लगाएपछि उत्पन्न भएको विवादले रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पुन सुरु भएको छ ।चितवन जिल्ला स्तरीय सर्वपक्षीय समितिले काममा फर्किन आह्वान गरेपछि धुर्मुस सुन्तली फाउन्डेसन काममा फर्किएको हो ।

फाउन्डेसनका तर्फबाट अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विज्ञप्ति जारी गरी परियोजना सुचारु गर्न चितवन जिल्लास्तरी मूल सहयोग समितिको बैठकले आह्वान गरेकाले काम निरन्तरता दिने निर्णय गरेको बताए ।

विज्ञप्तिमा भनिएको छ ‘परियोजना सुचारु गर्न चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समितिको बैठकले रंगशाला निर्माणका लागि पटक पटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता व्यक्त भएपश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौँ ।’

स्थानीयको एक समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो । त्यसपछि स्थानीयसँग सहमति भई भत्काइएको बार पनि स्थानीयकै प्रयासमा उठाइएको छ ।

जिल्ला स्तरीय सर्वपक्षीय समितिले रंगशाला निर्माणका लागि रकम जुटाउने, अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको र काममा फर्कन आह्वान गरेकाले आफूहरु विश्वस्त भएको धुर्मुस सुन्तली फाउन्डेसनले बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.