२५ साउन, विराटनगर ।
परिवर्तनका लागि हातेमालो कटहरी शाखाले जीर्ण भएको सडक मर्मत गरेको छ । विराटनगर–रंगेली हुलाकी राजमार्ग सडक खण्डको कटहरी–२ स्थित गोपाल फन पार्क अगाडि जीर्ण सडकका कारण दुर्घटना बढेपछि हातेमालोका अभियान्ताहरुले शनिबार मर्मत गरेका हुन् ।
आगामी दिनमा ठूला दुर्घटना निम्त्याउने खतरा भएको र त्यसमा सरोकारवालाहरुले चासो नदेखाएपछि सम्भावित दुर्घटनाबाट बच्न सडक मर्मत गरिएको हातेमालोका कटहरी शाखाका अध्यक्ष सञ्जित साहले जानकारी दिए ।

हातेमालोका अभियान्ताहरुले आफैँले ढुङ्गा–माटो ल्याएर जीर्ण भएको सडकका खाल्डाखुल्डी पुरेका थिए । सडक मर्मतमा ट्राफिक प्रहरी हाटखोलाले सहयोग गरेको थियो । कार्यक्रममा समाजसेवी निजाम खान, हातेमालोका केन्द्रीय अध्यक्ष विनोद परियार लगायतको सहभागिता रहेको थियो ।

