एजेन्सी, साउन ३२
बिहीबारबाट विश्व भर एकसाथ प्रदर्शनमा आएको बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘मिसन मङ्गल’ले बम्पर ओपनिङ गर्न सफल भएको छ ।भारतको स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको यस चलचित्रले प्रदर्शनको पहिलो दिन नै २९.१६ करोडको ओपनिङ गर्दै अक्षय कुमारको करिअरकै सबैभन्दा ठुलो ओपनिङ गर्ने चलचित्र बनेको हो ।
पहिलो दिन ओपनिङको मामिलामा यो फिल्म वर्षको दोस्रो सबैभन्दा ठूलो फिल्म पनि बन्न सफल भएको छ । पहिलो नम्बरमा सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘भारत’ छ, जसले पहिलो दिन नै ४२ करोड ३० लाखको व्यापार गरेको थियो । दोस्रो नम्बरमा ‘कलंक’ २१.६० लाई उछिन्दै ‘मिशन मंगल’ आएको छ ।
बिहीबार भारतमा राष्ट्रिय बिदा परेकाले पनि चलचित्रलाई दोहोरो फाइदा पुगेको बताइएको छ ।चलचित्रलाई दर्शक र समिक्षकले निकै रुचाएका छन् ।भारतले मङ्गल ग्रहमा रकेट पठाउन गरेको मिहिनेत र असम्भव मानिएको कुरालाई सम्भव बनाएको कथा चलचित्रमा समावेश छ ।
चलचित्रमा अक्षयका साथमा विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । ‘मिसन मङ्गल’ लाई जगन शक्तिले निर्देशन गरेका हुन् ।