३२ साउन, काठमाडौँ ।
सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्त गरि मुलुकलाई सम्मृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको घोषणा कार्यान्वयनका लागि भन्दै काठमाडौ केन्द्रीत छलफल भईरहदा प्रदेशसभाका सदस्यहरुले भने गाँस बास र कपासको आभारभूत आश्वश्यकता पूरा गर्न नै कठिन भएको गुनासो गरेका छन् ।
नियमित आकस्मिकताको रुपमा देखिएको बाढी पहिरो र डुबानको समस्या, मुहान सुक्दै जाँदा एक गाग्री पिउने पानी जोहो गर्न नै मुस्किल भईरहेको भन्दै उनीहरुले ठूला महत्वकांक्षी योजना र नारा भन्दा पनि क्षेत्रगत वस्तुस्थिति हेरेर समस्या सम्बोधन गरिनुपर्ने धारणा राखेका छन् । शनिवार धुलिखेलमा राष्ट्रियसभाका सदस्य र प्रदेशसभाका सांसदहरुबीचको अन्र्तरक्रियामा सहभागी प्रदेशसभाका सांसदहरुले दिगो विकास लक्ष्य प्राप्तिका लागि भन्दै विशेष प्राथमिकतामा राखिएका विषयका सन्र्दभमा क्षेत्रगत विशेषताका आधारमा प्राथमिकता दिनुपर्ने तर्क गरेका हुन् ।
प्रदेश नम्बर २ का सांसद शिवचन्द्र चौधरीले संविधानले प्रदत्त गरेको अधिकारहरु प्रदेशलाई दिनुपर्ने र क्षेत्रगत विशेषतालाई मध्यनजर गरि समस्या सम्बोधनका लागि संघले समन्वय गर्दै बजेट निकासा गर्नुपर्ने बताए । उनले आकस्मिक नियमितताको रुपमा रहेको बाढी पहिरो र डुबानको समस्या र चुरे संरक्षणको विषयलाई केन्द्र सरकारले नै प्राथमिकता दिनुपर्ने बताए । प्रदेश नम्बर ३ का सांसद रमेश पौडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि प्राथमिकता विषयमा स्थानीय तहसम्म घनीभूत छलफल हुनुपर्ने बताए । प्रदेश ३ मा विशेष गरेर अव्यवस्थित शहरीकरणको समस्या चुनौतिको रुपमा बढ्दै गएको भन्दै तत्काल व्यवस्थिति शहरीकरणका लागि संघले आवश्यक संयोजन गर्नुपर्ने आवश्यकता औल्याए ।
कर्णाली प्रदेशका सांसदले भने पिउने पानीको समस्या सम्बोधनलाई संघले नै पहिलो प्राथमिकतामा राखेर पहल गर्नुपर्ने बताए । सांसद मिना सिंह रखालले कर्णाली प्रदेशका अधिकांस स्थानमा पिउने पानीको समस्या भएको र एक ग्रागी पानीको जोहो गर्नका लागि महिलाहरु अर्को गाँउ सम्म पुग्न पर्ने बाध्यतामा रहेको बताइन् । प्रदेश ५ ले भने दिगो विकासका प्राथमिकताका विषयलाई सरकारको आवधिक योजना र नीति तथा कार्यक्रममा नै समावेश गरेर अघि बढेको बताएको छ । सांसद इन्द्रजीत थारु राजनीतिक दलका मागको आधारमा योजना छनौट र बजेट विनियोजन नगरेर दिगो विकासका लक्ष्य र यसले निर्धारण गरेको क्षेत्रलाई सबै प्रदेशले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।