२४ भदौ, काठमाडौं । नेपाल किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा प्रवेश गरेको छ । ताजकिस्तानलाई मंगलबार १–० ले हराउँदै नेपाल अन्तिम उपाधि नजिक पुगेको हो ।
नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएको हो । खेलको अन्त्यतिर सावित्रा भण्डारी सम्बाको गोलमा नेपाल विजयी भएको हो । गिताको फ्रिकिकलाई सम्बाले हेडमार्फत गोल गरेकी थिइन ।
त्यहि गोल खेलको निर्णायक गोल बन्यो । अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनलमा पुगेको छ ।
राउन्ड रोविनको अन्तिम खेल आजै उज्वेकिस्तान र आयोजक किर्गिस्तानबीच हुदैछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ ले हराउँदै नेपालले दमदार सुरुवात गरेको थियो । तर नेपाल दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो ।
ताजकिस्तानले प्रतियोगितामा कमजोर सुरुवात गरेको थियो । ताजकिस्तानले पहिलो खेल नतिजा उज्वेकिस्तानलाई १२ –० को नतिजा सुम्पेको थियो । दोस्रो खेलमा ताजिकस्तानले किर्गिस्तानलाई २–१ ले हराएको थियो ।
प्रतियोगितामा उज्वेकिस्तान सबैभन्दा बलियो टोलीका रुपमा रहेको छ । ताजकिस्तानलाई १२–० ले हराएको उज्वेकिस्तानले नेपाललाई २–० ले पराजित गरेको थियो । त्यस्तै आयोजक किर्गिस्तान अरु भन्दा कमजोर देखिएको छ ।
नेपालसँग ८–२ ले पराजित आयोजक टोलीले ताजकिस्तानसँगको खेल २–१ ले गुमाएको थियो । राउन्ड रोविन पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । त्यस्तै बाँकी दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।