३० भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरु मुलुकमा सल्बलाई रहेको उल्लेख गर्दै प्रतिवादमा उत्र्न पार्टीका युवा, विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।
अध्यक्ष दाहालले हजारौं सहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलैमा निमोठेर फाल्न केही अराजकतावादी तत्वहरुले जनताको भ्रम फैल्याउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसप्रति सचेत रहँदै समाजवाद निर्माण गर्ने सपना पूरा गर्ने काममा लागि पर्न सिंगो पार्टी पंक्ति तथा आम जनसमूदायलाई पनि आग्रह गरे ।
नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही अराजकतावादी तत्वहरुले जनतामा भ्रम फैल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रको कलिलो मुनालाई निमोठन सकिन्छ कि ? भन्ने दुस्शाहस गरिरहेको भन्दै त्यसप्रति सचेत रहन सबैलाई अपिल समेत गरे ।
‘केही अराजकतावादी तत्वहरुले जनतामा भ्रम सृजना हुने गरी हत्केलाले सूर्य छेक्न खोजेजस्तो गरी दुस्साहस गरिरहेका छन्,’ अध्यक्ष दाहालको भनाई थियो, ‘त्यस्ता संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरुप्रति सचेत रहन र त्यसको प्रतिवादमा उत्रन म युवा र विद्यार्थीहरुलाई विशेष रुपमा आह्वान गर्दछु ।’
अध्यक्ष दाहालले समाजवाद निर्माण गर्ने नेपाली जनताको चाहनामाथि तुषारा हुन नदिने दृढता पनि व्यक्त गरे ।
त्यस अवसरमा उनले नेता बोगटीलाई निष्ठावान, चरित्रवान नेताको रुपमा चित्रण गर्दै उनले देखाएको बाटोबाटै समाजवाद निर्माणको महाअभियानलाई सफल बनाउन सकिने विश्वास पनि व्यक्त गरे ।