काठमाडौं : चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौंबाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन् । काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको कोटेश्वर–जडीबुटी सडकखण्डमा घण्टौं जाममा बस्न यात्रु बाध्य भएका छन् ।
नागढुंगा–नौबिसे सडकखण्डमा लामो जामका कारण समयमै अस्पताल पु¥याउन नसक्दा शुक्रबार रौतहट गौर नगरपालिका–७ का ३७ वर्षीय रूपलाल साहको बसभित्रै मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला मृगौला रोगबाट पीडित साहको बिहान पाँच बजे बसमै निधन भएको हो । साह चढेको ना७ख ५३६४ नम्बरको बस राति २ बजेदेखि ५ बजेसम्म जाममा फसेको थियो । सडक बिग्रिएर दयनीय बनेको छ भने सडकभरि ठूला खाल्टाखुल्टी परेका छन् । निरन्तरको वर्षाका कारण सडक मर्मत हुन नसक्दा पनि जाम बढेर गएको हो ।
एक सातादेखि नागढुंगा–नौबिसे तथा कोटेश्वर–जडिबुटी सडक खण्डमा घण्टौं जाम हुँदा हजारौं यात्रु समस्यामा पर्दै आएका छन् । सडक विभागका प्रवक्ता शिवहरि सापकोटा देशैभरको सडक मर्मत गर्ने तयारीमा रहे पनि मौसमका कारण प्रभावित भएको बताउँछन् ।
उपत्यकाबाट बाहिरिने नाकामा बाहिरिन सामान्य समस्याजस्तै देखिए पनि भित्रिने सवारी साधन भने घण्टौं जाममा पर्दै आएका छन् । नागढुंगा–नौबिसे सडकखण्डमा ठूलाठूला मालवाहक सवारी भित्रिने र बाहिरिने हुँदा पनि जाम बढेको हो । काठमाडौं भित्रिने अधिकांश सवारी साधन सामान बोकेर आएका लोड गाडी हुने हुँदा सडक पनि छिटोछिटो भत्किने र खाल्टाखुल्टी पर्ने गरेको छ ।
नाैबिसेदेखि नागढुंगातर्फ ६ किलोमिटर सडक क्षेत्र रहे पनि हाल १० घण्टासम्म जाममा फस्नुपरेको यात्रुहरूले गुनासो गरेका छन् । त्यस क्षेत्रमा अहिले चाडपर्वलाई लक्षित गरेर पिच गर्ने काम भइरहेको छ । त्यसले पनि जाम थपिन पुगेको हो ।
गत असारमै सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम बल्ल सुरु गरिएको छ । मर्मतको जिम्मा पाएको चितवनस्थित ठेकेदार कम्पनी जीएमआरले सडक मर्मत दसैंको चहलपहल सुरु हुने बेलामा सुरु गरेको हो । मर्मतका कारण सो सडक खण्डको धादिङतर्फ ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ । दसैंअघि उपभोग्य सामग्री राजधानी भित्रिने बेलामा हुन लागेको मर्मतले यात्रुलाई थप सास्ती भएको छ। , आजकाे राजधानी दैनिकमा समाचार छ।