२२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ ।
खेलको पूर्वसन्ध्यामा बोल्दै अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालविरुद्ध आक्रामक रणनीतिमा धेरै गोल गर्ने बताएका छन् । नेपाल र अष्ट्रेलिया दुवैले छनोट अन्तर्गत एक-एक खेल जितेका छन् ।
नेपाल पहिलो खेलमा कुवेतविरुद्ध ७-० ले पराजित भएपनि दोस्रो खेलमा चाइनिज ताइपेइसँग २-० को जित दर्ता गर्न सफल रहेको थियो । अष्ट्रेलियाले खेलेको एकमात्र खेलमा कुवेतलाई ३-० ले पराजित गरेको छ ।
अष्ट्रेलियाको क्यानबेरास्थित जियो रंगशालामा हुने खेल बिहिबार नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
नेपालको स्थितिबारे बोल्दै अष्ट्रेलियाका प्रशिक्षक आर्नोल्डले नेपालबारे जानकार रहेको अभिव्यक्ति दिए । नेपाल र अष्ट्रेलियाले कुवेतविरुद्धको हासिल गरेको नतिजा हेर्दा कागजमा अष्ट्रेलिया निकै बलियो देखिन्छ ।
दुवै टोलीको स्तर हेर्दा नेपालले फराकिलो अन्तरको हार बेहोर्ने सम्भावना पनि छ । प्रशिक्षक आर्नोल्डले नेपालविरुद्ध सक्दो धेरै गोल गर्न तयार रहेको बताए ।
अष्ट्रेलियाको टोलीमा प्रिमियर लिग, बुन्डेस लिगा लगायत युरोपेली लिगका शीर्ष लिगमा खेल्ने खेलाडीहरु रहेका छन् । नेपालमा भने विदेशी लिग खेल्ने तीन खेलाडी छन् ।
स्तर, पुराना नतिजा र इतिहासको हिसाबमा पनि अष्ट्रेलिया नेपालभन्दा निकै बलियो टोली हो ।