४ कात्तिक, काठमाडौँ ।
पछिल्लो समय चर्चामा आएको तिज गीत ‘बीच्च बीच्चमा’का गायक दुर्गेश थापा विरुद्ध प्रहरीमा उजुरी परेको छ । उनको पछिल्लो ‘देउसी गीत’ विरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई डाकेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट आफूलाई बोलावट आएको थापाले बताए । उनले भने ‘हो, मेरो गीतको विषयमा छलफल गर्न बोलाउनुभएको छ, ।’
गीतमा रहेका केही शब्दहरुलाई लिएर आलोचना भएको हो । गीतको मुल भाव नै ‘वियर पिएर तिहार मनाऔं’ भन्ने खालको छ । ‘खोइ निकाल गाँजा, खानुपर्छ आज’ जस्ता शब्दहरु पनि छन् । गीतको म्युजिक भिडियोमा युवायुवतीहरु वीयर पिएर झुमिरहेको देखाइएको छ । कुनै पनि दृष्य सामग्रीमा लागूपदार्थको सेवन गरेको देखाइँदा त्यससँगै सावधानी सन्देश पनि दिनुपर्ने नियम भएपनि म्युजिक भिडियोमा त्यसको पालना गरिएको छैन ।
सो दउसी गीतबारे यूट्यूवमा पनि अत्यधिक नकारात्मक कमेन्टहरु आएका थिए । त्यसलाई सहन नसकेर दुर्गेशले कमेन्ट बक्स नै खाली गरिदिएका छन् । दुर्गेशको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय अपराध अनुसन्धान महाशाखामा यस विषयमा पत्राचार गरेपछि प्रहरीले दुर्गेशलाई बोलाएको हो ।
मर्म नै बिग्रिने गरी तिहारको गीत बनाएको आरोपका विषयमा दुर्गेशले भने, ‘यस्ता गीत मैले मात्र होइन अरु पनि धेरैले गाएका छन् । ठूलो कुरै होइन यो ।’
उनले यसमा प्रहरीले जे भन्छ त्यही मान्ने पनि बताएका छन् ।