६ कार्तिक, वीरगञ्ज । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट कानुनविपरीत शुल्क उठाएको पाइएको छ ।
विद्यार्थीहरूका अनुसार सरकारले तोकेको शुल्कविपरीत उसले विभिन्न बहानामा अतिरिक्त थप पैसा तिराउने गरेको हो । सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ ।
तर, उक्त मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको हो । विद्यार्थीका अनुसार होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले जथाभावी शुल्क उठाइरहेको छ ।
शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि मेडिकल कलेजले भनेबमोजिम शुल्क बुझाउन बाध्य भएको विद्यार्थीहरुले बताएका छन ।
विद्यार्थीले केही समयअघि शुल्कको कानुनी रूपमा कागजात दिन अस्पताल प्रशासनमा निवेदन नै दिएका थिए। तर, निवेदन दिने विद्यार्थीलाई पालैपालो बोलाएर कलेजले त्रास देखाएको थियो ।