आलममाथि अनुसन्धानका लागि आठ दिनको म्याद थप

आलममाथि अनुसन्धानका लागि आठ दिनको म्याद थप

८ कार्तिक, काठमाडौं । १४ जनाको हत्याको आरोपमा पक्राउ परेका मोहम्मद अफ्ताब आलममाथि अनुसन्धानका लागि रौतहट जिल्ला अदालतले आठ दिनको म्याद थप गरेको छ ।

शुक्रबार न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई अनुसन्धानका लागि अझै आठ दिन म्याद थपेको हो । आलममाथिको अनुसन्धान बाँकी रहेकाले आजैबाट लागू हुने गरी आठ दिन म्याद थप गरिएको स्रेस्तेदार गुणराज पराजुलीले बताए । यसअघि गत आइतबार न्यायाधीश चाणकमणी अर्यालको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ५ दिन म्याद दिएको थियो । म्याद थप पछि आज फेरी उनलाई अदालत लगिएको छ ।

आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो । उनलाई प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले पक्राउ गरेको थियो । १२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् । उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ । आलम अदालतबाट दोषी ठहर भएमात्र उनी निलम्बनमा पर्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.