१६ कात्तिक, काठमाडौँ ।
आगामी कात्तिक २९ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र ‘मिस्टर नेपाली’ नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार नोभेम्बर १० र १२ मा चलचित्रको प्रिमियर अमेरिकामा हुन लागेको हो ।
प्रेमराज दाहालको निर्माण तथा देव भुसालको निर्देशनमा तयार भएको चलचित्रले विदेशमा रहे पनि मन त नेपाली नै हुन्छ भन्ने कथा बोकेको छ । चलचित्रको प्रिमियर हस्टन टेक्ससमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे हुन लागेको हो । यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा यो चलचित्रको प्रिमियर हुनेछ । अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा चलचित्रको प्रिमियर हुन लागेको हो । १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा यो चलचित्रको प्रिमियर हुनेछ । अमेरिकी समय अनुसार बेलुकी साढे ६ बजे चलचित्रको प्रिमियर हुनेछ ।
चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको छायाङ्कन नवलपरासी र काठमाडौँमा गरिएको छ ।चलचित्रमा भुवन केसीका अलावा रीमा विश्वकर्मा, विष्णु सापकोटा, सुरेन्द्र केसी, कमल मणि नेपाल, रवि डङ्गोलको साथमा डेव्यु कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । चलचित्रलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । भुसालकै लेखन तथा पटकथा रहेको चलचित्रमा निरज कँडेलले छायाङ्कनको पाटो सम्हालेका छन् ।









