१६ कात्तिक, काठमाडौँ ।
आफ्नो व्यस्तताका कारण देखाउँदै दयाहाङ राईले साइन गरेको फिल्म ‘लप्पन छप्पन २’ छाडेका छन् । विभिन्न कारणले निर्धारित मितिमा छायांकन सुरु हुन नसकेपछि उनले फिल्मबाट हात झिकेका हुन् । यद्यपि, उनी यो फिल्मको छायांकनका लागि दशैं अगाडि लण्डन पुगेका थिए । तर, त्यहाँ फिल्मको छायांकन नभएपछि उनी घुमेर फर्किए । अहिले फिल्मको अष्ट्रेलियामा छायांकन भइरहेको छ ।
दयाहाङले फिल्मबाट हात झिकेपछि निर्माण टिमले उनको ठाउँमा अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्तिलाई अनुबन्ध गरेको छ । उनी लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । यसअघि उनले आफ्नै पिताले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनयमा डेब्यू गर्न लागेका थिए । अभिनेत्रीमा करिश्मा मानन्धरकी छोरी कविता थिइन् । तर, यो फिल्मको छायांकन आधा पनि नसकिँदै रोकिएको थियो ।
‘लप्पन छप्पन २’ मा शक्तिलाई शिव श्रेष्ठले सिफारिस गरेको र फिल्ममा शिवको पनि अभिनय रहेको स्रोतले जनाएको छ । उनले अभिनेता सौगात मल्लको पिताको भूमिका निभाउँदैछन् । फिल्ममा शक्ति प्रहरीको भूमिकामा हुने बताइएको छ । अभिनेता दयाहाङ राईले फिल्म ‘लप्पन छप्पन’ को पहिलो श्रृंखलामा प्रहरी अफिसरको भूमिका निभाएका थिए । यो फिल्म बक्सअफिसमा असफल भएको थियो ।