२७ कात्तिक, बिराटनगर ।
१ नम्बर प्रदेशका विभिन्न जिल्लामा लगाईएका अबैध गाँजा खेती तथा आफै उम्रिएका गाँजाका बोटहरु नष्ट गर्ने ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान अन्तर्गत १५ लाख १ हजार ३३० गाँजाकाबोट फडानी गरी नष्ट गरिएको छ ।कार्तिक ३ गते देखि हाल सम्ममा धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र ईलाम जिल्लाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफँै उम्रिएका सो परिमाणका गाँजाका बोटहरु नष्ट गरिएको हो ।
पछिल्लो समयमा अबैध रुपमा गाँजा खेती गरेको पाईएकोले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदेशभरीका जिल्ला प्रहरी कार्यालयलाई गाँजाका बोट नष्ट गर्न निर्देशन दिएको थियो ।गाँजा फडानीको लागि उक्त जिल्लाहरुबाट दैनिक १ सय ९७ जना प्रहरी जनशक्ति खटाईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दंगा नियन्त्रण प्रहरी गण दुहवी र जिल्लाप्रहरी कार्यालय धनकुटाबाट संयुक्त रुपमा दैनिक ८४ जना, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट, ५६ जना, भोजपुरबाट २० जना, खोटाङबाट १० जना, ईलामबाट १७जना र सुनसरीबाट १० जनाप्रहरी जनशक्ति गाँजा फडानीको लागि खटाईएको छ ।
गाँजा फडानी गर्न खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी, साँगुरीगढी, चौबिसे र धनकुटाकै आँखिसल्ला गाऊँपालिकालगायतका एरियाको बिभिन्न स्थानमा करिब ९९४ रोपनीभन्दा बढी क्षेत्रफलमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका १२ लाख ३० हजार ५१८ गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको छ ।
यस्तै भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानको अन्दाजी ३०९ रोपनी जग्गामा लगाईएको १ लाख ३० हजार ३ सय ३६ बोट गाँजा फडानी गरी नष्ट गरेको छ । यसैगरी उदयपुरको ताप्ली गाँउपालिकाको बिभिन्न स्थानमा करिव २८५ रोपनी क्षेत्रफलमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका १ लाख ३३ हजार ४७६ गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको हो ।
यस्तै खोटाङको हलेशीतुवाचुङ नगरपालिकाका बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका ७ हजार गाँजाकाबोटहरु नष्ट गरिएको छ भने ईलामको देउमाई नगरपालिकाका बिभिन्न स्थानहरुमा लगाईएको २४० बोट गाजा फडानी गरी नष्ट गरिएको हो । यसैगरी सुनसरीको देवानगञ्ज गाऊँपालिका–६ मा लगाईएकाकरिव ३ सय गाँजाकाबोट फडानी गरी नष्ट गरिएको छ । उत्पदानको अन्तिम अबस्थामा रहेको गाँजाका बोटहरु फडानी गरी नष्ट गर्ने कार्य निरन्तर भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।