१५ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोह सुरु भएको छ । दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने कार्यक्रम छ । खेलाडीहरुले मार्चपास गरिसकेका छन् ।
मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेका थिए । उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक समेत जितेका थिए ।

नेपालसहित सहभागी सबै राष्ट्रले आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुतिसमेत दिने कार्यक्रम छ । उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।
नेपालमा तेस्रो पटक साग आयोजना भएको हो । उद्घाटन समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुनेछ ।