नेपालका मालबाहक गाडीलाई भारतमा अवरोध,सरकारले सुनेन

नेपालका मालबाहक गाडीलाई भारतमा अवरोध,सरकारले सुनेन

९ पुस, विराटनगर ।
भारत तर्फको मीरगञ्ज पुल मर्मत गर्ने भन्दै भारतले सवारी रोकेपछि मोरङ– सुनसरीका उद्योग व्यवसाय ठप्प हुने अवस्थामा आएका छन् । मीरगञ्ज पुल मर्मतका कारण नेपालको दोस्रो ठूलो नाका विराटनगर भन्सार नाकाबाट हुने आयात निर्यात ठप्प भएपछि उद्योग व्यवसाय धरासायी बनेको उद्योगी व्यापारीहरुले बताएका छन् ।

मंगलबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर्दै उद्योगी व्यापारीहरुले मर्मतका क्रममा रहेको पुल बनिसक्न अझै तीन÷चार हप्ता लाग्ने भारतीय पक्षले जानकारी दिएको बताउँदै समस्याको बारेमा सरकारले चासो नदेखाएको गुनासो गरेका हुन । भारतले विराटनगर भन्सारलाई जानकारी गराएर १९ डिसेम्बरपछि पुलमा मालबाहक गाडी रोकेको हो ।

तीन वर्षअघिको मीरगञ्ज खोलाको पुल बाढीले क्षतिग्रस्त भएको थियो । त्यसबेला पुल सञ्चालनमा आउन झण्डै ९ महिना लागेको थियो । नेपालको दोस्रो ठूलो नाका विराटनगरमा आवातजावतका लागि एउटा मात्र रुट छ । विराटनगर भन्सारबाट करिब ४ किलोमिटर दक्षिण रहेको पुलमा भारतले सवारी रोकेपछि दुई हजार भन्दा बढी गाडी सीमापारी रोकिएका छन । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले पुल मर्मतका लागि भन्दै भारतले सवारी साधन रोकेपछि वीरपुर–भाण्टाबारी हुँदै गाडी संचालन गर्न सरकारसँग पहल गरेपनि सरकारले चासो नदेखाएको बताए ।

बाढीले क्षति र्पुयाएको पुलमा भारतले ४० टन भन्दा बढी आयात गर्न नदिने बताउँदै आएको थियो । तर १९ डिसेम्बरबाट भने मर्मतका लागि पूर्ण रुपमा रोक लगाएको हो । पुलपारी भएको जामका कारण डिटेन्सन चार्ज मात्र दैनिक १ करोड भन्दा बढी खर्च हुने अवस्था आएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । यसको दीर्घकालिन समाधानकालागि आई.सी.पी. जोगबनी जोड्ने आर.सी.सी. पुलको निर्माण कार्यलाई पनि शिघ्रता दिईनु पर्ने उनीहरुको माग छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.