९ पुस, काठमाडौँ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो ।
सीआइबीका डिआइजी निरजबहादुर शाहीले चिलिमा भएको इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ नागरिकहरु पर्यटक भिसामा नेपाल आएर आपराधिक कृयाकलापमा संलग्न रहेकाले सहयोग गर्न आगह गरेपछि निगरानी सुरु गरेको बताए । डिआइजी शाहीले तारकेश्वर नगरपालिकाको मनमैजमा ५ घर, बाँसबारीमा ३ र बुढानिलकण्ठमा १ घरमा छापा मारेको बताए । उनीहरुको साथबाट ठूलो संख्यामा मोबाइल, ल्यापटप र सीमकार्ड लगायतका सामान बरामद गरिएको बताए ।

पक्राउ परेका उनीहरुले विधुवा महिला, धनी महिला, युवावर्ग र व्यापारीहरुलाई जालमा पारी अनलाईन च्याट गराउने, नक्कली वेव बनाएर पैसा आउने लोभ देखाउँदै ठग्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको र अनुसन्धान पूर्ण नभइ कुनै पनि कुरा पुष्टि गर्न नसकिने उनले बताए । अहिले उनीहरुमाथि पक्राउ गर्न खोज्दा महिला प्रहरीमाथि र सोधपुछका क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेकोले ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनीहरु अन्य आपराधिक कार्यहरुमा पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान पनि जारी रहेको जनाएको छ ।