प्रधानमन्त्रीले दिए तमु ल्होछारको शुभकामना

१५ पुस २०७६, मंगलबार
Share this
728shares

१५ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

शुभकामना सन्देशमा उनले तमु ल्होछार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गरेका छन् ।

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो, यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, वेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् भन्दै प्रधानमन्त्रीले यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई हामीले संरक्षण गर्दै आएको बताएका छन् ।

Advertisement

सन्देशमा प्रधानमन्त्री ओलीले तमु समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् ।

सन्देशमा तमु ल्होछार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रूपमा लिइने गरेको तथा गुरुङ (तमु) भाषामा ‘ल्हो’ भनेको दिन, र ‘छार’लाई पुस १५ को रूपमा लिइने गरेको चर्चा गर्दै उहाँले भूगोलअनुसार भिन्न नामले उच्चारण गरिए पनि तमु ल्होछारलाई संसारभरि छरिएर रहेका गुरुङ समुदायले आफ्नो नयाँ वर्ष वा वर्ग फेरिने दिनका रूपमा मनाउने बताइएको छ ।

Advertisement

“हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रूपमा रहेका, एकता र सहिष्णुताको यो पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्छ, विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्, नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ”, सन्देशमा प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको वास्तविकता प्रस्तुत गर्दै उनले लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता रहेको सन्देशमा भनेका छन् ।

उक्त विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेको प्रधानमन्त्रीले स्मरण गराएका छन् ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top