१ माघ , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामहरुका विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरे ।
सरकारले सडकलाई मानवमुक्त बनाएको प्रशंग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस वेवारिसे नभेटिने उल्लेख गरे । ‘‘पहिले पहिले बालबालिकाहरु पहिले कुकुरसँग लडाई गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो । अहिले यो सरकार आएपछि काठमाडौंका सडकमा बालबालिका छैनन् । उनीहरुलाई राख्ने, बस्ने, पढाउने प्रवन्ध मिलाइएको छ । मान्छेहरु सडकमा लडिरहेका हुन्थ्ये, झिंगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरु सडकमा छैनन् । उनीहरुलाई सडकबाट उठाएर हामीले प्रवन्ध मिलाएका छौँ ।
नेपाल भिखारीको देश होइन भन्दै आएका छौँ । कोही बेघर हुनु पर्दैन् । ठग बेघरलाई घर पठाई दिने र साँच्चिकैको बेघरको प्रवन्ध सरकारले गर्दै आएको छ’’, उनले भने, ‘हेर्दा यी साना कुरा लाग्छन् तर सामाजिक रुपमा यसले अर्थ लाग्छ । हामीले काम गरेका छौँ । त्यस्ता कामहरुको प्रशंसामा लेख्ने प्रशारण गर्ने टेलिभिजन छैन् । त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् ।
प्रधानमन्त्री ओलीले आफुले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपले लिने गरिएको भएपनि अहिले काम भइरहेको स्मरण गरे । प्रधानमन्त्री ओलीले चेम्बरका व्यवसायीहरुलाई लगानीमैत्री वातावरण निर्माणका लागि ऐन कानुनहरुमा संशोधन गर्नुपर्ने भए संशोधन गर्न तयार रहेको बताए ।