डडेल्धुराको आलितालमा प्रहरीले ११ छाउगोठ भत्काए

१ माघ ७६, बुधबार
Share this
737shares

१ माघ,डडेल्धुरा।
सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा पनि मंगलबार १ दर्जन छाउगोठ भत्काएका छन्।

Advertisement

ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरीक्षक जनकबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले आलिताल गाँउपालिका–६ धिमडाका २ दर्जन घरपरिवारले प्रयोगमा ल्याएका ११ वटा छाउगोठ भत्काएको हो।

सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तथा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा उक्त छाउगोठहरु भत्काएका हुन्। छाउगोठ भत्काउने सो अभियानमा गाउँपालिका उपाध्यक्ष जलाकुमारी बिष्ट बोगटी, वडा नम्बर ६ का वडाध्यक्ष कुम्भ बुढा, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Advertisement

छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउछ भन्ने अन्ध विश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने यस क्षेत्रको चलन कायमै छ।

आफ्नो गाउँपालिकामा छाउपडी प्रथा अन्त गर्न तथा छाउगोठ भत्काउन प्रत्येक वडामा छाउपडी सम्बन्धि जनचेतना जगाउने काम भइरहेको उपाध्यक्ष बिष्ट बोगटीले बताइन्। छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको वडाध्यक्ष बुढाको भनाइ छ।

Advertisement

छाउगोठ भत्काउने क्रममा केही बुढापाकाहरुले गुनासो गरेपनि नयाँ पुस्ताले भने सो कार्यलाई आफूखुसी सहयोग गरेका थिए।

मुलुकी अपराध संहितामा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

गृहमन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन खटाइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि छाउपडीका नाममा गरिँदै आएको विकृति तत्काल अन्त गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन ९ वटै जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top