१ माघ, विराटनगर ।
स्थानीय संस्कृति र जातीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा विराट सडक महोत्सव–२०७६ सुरु भएको छ । महोत्सवमा विभिन्न परिकार तथा समुदाय विशेषका खानाका परिकार, विभिन्न राष्ट्रिय कलाकारद्धारा सांगितीक प्रस्तुती र विभिन्न संस्कृति झल्किने नृत्य मुख्य आकर्षक रहेका छन् ।
मञ्जिना मुभिज क्रियशसनको आयोजनामा माघ चार गतेसम्म चल्ने महोत्सवको बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै मेयर पराजुलीले यस किसिमको कार्यक्रम आगामी दिनमा पनि हुनुपर्ने बताउँदै महानगरपालिकाले निरन्तर सहयोग गर्ने बताए ।उनले महानगरपालिकाले पनि चाँडै नै भव्य सडक महोत्सव गर्ने पनि घोषणा गरे ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । उनले मेलामा भीँडभाडका कारण विभिन्न अपराधिक घटना हुन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरे ।
आयोजक समितिका संयोजक तथा मञ्जिना मुभिजका प्रवन्ध निर्देशक जतिन ताम्राकारले विराटनगरमा सडक महोत्सव गर्ने पहिले देखिको सपना पूरा भएको बताए । उनले महोत्सवले नेपाल सरकारले अघि सारेको भ्रमण वर्षको प्रचार गर्ने पनिबताए ।
उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सडक महोत्सव महत्वपूर्ण भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए । ५० वटा स्टल रहेको महोत्सवमा नेवारी, थारु, मारवाडी, थकालीसहित स्थानीय विभिन्न खानाका परिकारहरू रहेका छन् भने फुट ट्रक थप आकर्षणका रुपमा रहेको छ ।
त्यस्तै खाना बाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि रहेका छन् भने बालबालिकाका लागि गेमजोन, हरेक साँझ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति समेत रहनेछ ।
महोत्सवमा सीमावर्ती भारतीय बजार जोगबनी, फारविसगञ्ज, सुनसरी, मोरङ, झापा लगायतका १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोडको करोबार हुने अपेक्षा आयोजकले गरेको छ । हरेक दिन ३ देखि राति ८ बजेसम्म सञ्चालन हुने महोत्सवमा अनिल सिंह, सुमग पोखरेल, आल्मोडा राना लगायतका कलाकारहरुले सांगितीक प्रस्तुती रहने बताइएको छ ।