२ माघ, काठमाडौँ ।
सरकारले ‘सगरमाथा संवाद’ को पूर्वतयारीका रूपमा माघ २६ मा ‘राष्ट्रिय संवाद’ गर्ने भएको छ ।
आगामी चैत २०–२२ मा सरकारले सगरमाथा संवाद गर्दै छ । पहिलो पटक आयोजना गर्न लागिएको संवादको मुख्य एजेन्डा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ रहेको छ ।
मुख्य संवादअघिको कार्यक्रमका रूपमा राष्ट्रिय संवाद गर्न लागिएको सगरमाथा संवाद सचिवालयका प्रवक्ता किरण चापागाईंले बताए । उनका अनुसार राष्ट्रिय संवाद पनि मुख्य एजेन्डामै केन्द्रित हुनेछ । ‘राष्ट्रिय संवादबाट निस्केको निष्कर्षलाई मुख्य संवादमा एजेन्डाका रूपमा लगिनेछ,’ उनले भने ।
सगरमाथा संवादमा विदेशबाट करिब १ सय ५० सहित २ सय ५० जनाको सहभागिता हुनेछ । त्यसअघि गर्न लागिएको राष्ट्रिय संवादमा भने करिब ३०० जना सहभागी रहनेछन् ।
चापागाईंका अनुसार राष्ट्रिय संवादमा सरकारी, राजनीतिक, संसद्, नगरपालिकारगाउँपालिका, परराष्ट्रविज्ञ, निजी क्षेत्र, पर्यटन क्षेत्र, नागरिक समाज, विदेशी दाताहरूको सहझागिता हुनेछ । राष्ट्रिय संवादमा एकै दिन चार सत्र र एक अन्तर्त्रिया कार्यक्रम हुनेछन् ।
संवाद सचिवालयको नेतृत्व परराष्ट्र मन्त्रालयका नीति तथा अनुसन्धान महाशाखाका प्रमुख कुमार खरेलले गरेका छन् ।
सरकारले वैशाख २ मा गरेको मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषय एवं मुद्दामा हरेक दुई वर्षमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवाद सुरु गर्ने निर्णय गरेको थियो ।
सगरमाथा संवाद कार्यक्रमको आयोजना तथा सञ्चालनका लागि नीतिगत एवं विषयगत पक्षमा मार्गदर्शन गर्न तथा संवाद आयोजनाका लागि आवश्यक पर्ने साधनस्रोत तथा वित्तीय पक्षमा निर्णय गर्न परराष्ट्रमन्त्रीको संयोजकत्वमा स्थायी प्रकृतिको १० सदस्यीय सगरमाथा संवाद निर्देशक समिति बनाइएको छ ।