भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा अग्रसर छौं : प्रधानमन्त्री

भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा अग्रसर छौं : प्रधानमन्त्री

२ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि आह्वान गरेका छन् । बिहीबार २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन् ।

उनले देशमा भूकम्पको जोखिम रहेकोले यस्ता प्राकृतिक विपद्ले जनधनको क्षतीबाट जोगिन र बच्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।प्रधानमन्त्रीको सन्देशमा भनिएको छ –‘२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्राकृतिक बिपत्ति तथा भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि म सबैमा हार्दिक आह्वान गर्दछु, भूकम्पको जोखिम रहेको हाम्रोजस्तो भू–भागमा यस्ता प्राकृतिक विपद्ले हुनसक्ने जनधनको क्षतिबाट जोगिन भूकम्प सुरक्षा दिवसले हामी सबैलाई यसको सामना गर्दै बच्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’

राज्य संरचनाका अंगहरुमा मात्र विपद् व्यवस्थापनका पक्षहरुलाई सवल बनाएर मात्र पुग्दैन भन्दै प्रधानमन्त्री ओलीले समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउ नुजरुरी वताएका छन् । त्यसका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै हामी भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा सरकार अग्रसर रहेको पनि उल्लेख गरेका छन् ।

यस्तो छ प्रधानमन्त्रीको सन्देशः

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्राकृतिक बिपत्ति तथा भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि म सबैमा हार्दिक आह्वान गर्दछु । भूकम्पको जोखिम रहेको हाम्रो जस्तो भू–भागमा यस्ता प्राकृतिक विपद्ले हुनसक्ने जनधनको क्षतिबाट जोगिन भूकम्प सुरक्षा दिवसले हामी सबैलाई यसको सामना गर्दै बच्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

हामीले राज्य संरचनाका अङ्गहरुमा मात्र विपद् व्यवस्थापनका पक्षहरुलाई सवल बनाएर मात्र पुग्दैन, समाजको जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनु जरुरी छ । त्यसका लागि हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेका छौं ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै हामी भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा अग्रसर छौं । जनसमुदायलाई भूकम्प प्रतिरक्षाका लागि सजग र तत्पर बनाउने तथा यसबाट हुने जनधनको क्षतिसम्बन्धी दुखद् अनुभवलाई बिस्मृतिमा जान नदिने हाम्रो उद्देश्य छ ।

यतिखेर हामी भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौं । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षतिलाई हामीले पुनर्निर्माण गरि निश्कर्ष नजिक पु¥याएका छौं ।

भूकम्पले ध्वस्त भएका जनताका आवास, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, सरकारी प्रशासनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनहरुलाई खण्डहर जमिनबाट उठाएर नवनिर्माणको सुखद् तस्बिरमा बदलेका छौं ।

यस तथ्यले हाम्रो पुनर्निर्माण अभियान गन्तब्य नजिकै पुगेको सुसंकेत गरिरहेको छ । भूकम्पपछि ढलेको समाजको मनोबल उठ्ला त भन्ने प्रश्नलाई हामीले कामद्वारा नै सम्बोधन गरिरहेका छौं । र, त्यसलाई हामी निकट भविश्यमै सम्पन्न गर्दैछौं ।

भूकम्पपछिको पुनर्निर्माण मात्रै होइन, हामीले यसबीच बारा र पर्सामा आएको हुरी प्रभावित जनताका उजाड बस्ती ५ महिनामै निर्माण गरी हस्तान्तरण गरेका छौं । प्राकृतिक विपत्तिका बेलामा राज्यका तर्फबाट हामीले अपनाएको लगाव र तत्परतालाई यसले प्रतिबिम्बित गर्दछ ।

हाम्रा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणलाई हामीले परम्परागत मौलिकता कायम राख्दै दीगो तथा भूकम्पबाट अधिकतम सुरक्षित हुने तबरले अघि बढाएका छौं । जोखिमयुक्त स्थानमा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्ने प्रवन्ध मिलाएर पुनर्निर्माणको काम सफलतापूर्वक अघि बढाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रलाई मात्र होइन, सिङगो मुलुकलाई सुरक्षित र भूकम्पबाट अधिकतम रुपमा सुरक्षित बनाउन सरकारले प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गरि प्रभावकारी कार्यान्वयन गरिरहेको छ । कुनै पनि प्रकारको विपद्लाई न्यूनीकरण र सामना गर्न हामीले पूर्व तयारी कार्यमा विशेष ध्यान दिनै पर्दछ । यस निम्ति म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, राष्ट्रिय भूकम्प सुरक्षा दिवसले हामीलाई यही दिशातर्फ सोच्न र सक्रिय रहन प्रेरित गरोस् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.