१४ माघ, काठमाडौं ।
गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छिन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृृष्णबहादुर कटवालले धरौटीमा छाड्ने आदेश भएको जानकारी दिए । राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो ।
प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय प्रशासनसँग मागेको थियो ।
तर, सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय मात्र दिएको थियो । यद्यपि, चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर गरिएको थियो । राउतलाई गएराति ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो । ‘हाइपर टेन्सन’का कारण समस्या भएको भन्दै उनलाई प्रहरीले अस्पताल लगेको थियो ।
मंगलबार बिहानै सरकारी वकिल कार्यालय हाजिर गराएपछि उनलाई प्रशासनमा लगिएको थियो ।